
वीरगन्ज— सडकमा जथाभावी फोहोर फ्याँक्नेलाई शुक्रबारदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले शुक्रबारदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहोर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँकाे भनाइ छ ।
‘जथाभावी फोहोर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ,अझै फोहोर फाल्ने क्रम रोकिएको छैन्’,उनकाे भनाइ छ,‘जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहोर फाल्नेलाई जरिवानामात्रै होइन,सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।’