News Griha :: न्यूजगृह
जहाज कुर्दा चार बालबालिकाको निधन भएपछि हुम्लाबासी आन्दोलित

हुम्ला— नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।

प्राधिकरणको नियमका कारण हवाई जहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्यु भएपछि हुम्लाबासी आन्दोलित भएका हुन् ।

नेपाल एयरलाइन्सले उडान नभरेको हुम्लामा निजी एयरलाइन्सको उडानसमेत बन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीजस्तामा अभाव खेप्नु परेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए ।

प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासंघलगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूको आरोप थियो ।

प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।

हिमाली जिल्लाका लागि यो नियम पहिलो भएसँगै हुम्लीबासी मारमा परेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतको भनाइ थियो ।

नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए । अहिले उक्त उडानसमेत ठप्प भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:५३
Weather Update