News Griha :: न्यूजगृह
जहाँ पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय

मुगु— गत वर्षको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका-५ का आधा दर्जन घरमा क्षति भएको थियो । गाउँमाथिको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधा दर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरू अहिले घरबिहीन छन् ।

वर्षातसँगै गाउँमाथिबाट कति बेला पहिरो आउँछ भन्ने चिन्तामा स्थानीय नसुतेर रात कटाउँदै आएका छन् । पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिरोको डरले उनीहरू जागाराम रात कटाउने गरेका हुन् ।

‘नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो, अहिले छिमेकीको घरमा सबै परिवार बसेका छौँ, यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्,’ स्थानीय कृष्णा रावलले भने, ‘अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले एकै चिहान बनाउने हो भन्ने चिन्ताले निन्द्रा लाग्दैन ।’ उनका अनुसार यहाँ १२० घर छन् । 

‘पुर्खाहरू यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पखेराबाट पहिरो आएको थिएन । गत असोजमा परेको वर्षाले पहिरो आयो, धेरैका घरमा क्षति पुर्‍यायो,’ गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भनिन्, ‘यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ, पानीका मूल घरभित्र देखिन थाले ।’

अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको उनले बताइन् । सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनु पर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

बिहीबार बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतलगायतको टोलीले पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गरे ।

टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाबारे जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राखेका थिए । स्थलगत अवलोकनमा उपप्रमुख कार्की, प्रजिअ थापालगायतले अधिकांश घरहरू पहिरोको जोखिममा रहेको पाइएको बताए ।

स्थानीय, प्रदेश तथा संघीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:३०
Weather Update