
काठमाडौं— नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।
संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको बताउँदै अनुगमलाई तीव्रता पार्न खोजेको जानकारी दिए ।
‘उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँ र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उनले भने ।
संघले पानीको बजार अनुगमन गर्न संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।
उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्ने छ ।
यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरे ।
संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे ।
हाल काठमाडौं उपत्यकाभित्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र झण्डै दुई सय र देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन् ।