
काठमाडौं— सर्वोच्च अदालतले टीकापुर घटनाबारे रिटको पूर्णपाठ सार्वजनिक गर्दै अमानवीय घटनाको रुपमा व्याख्या गरेको छ ।
जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको सर्वोच्चले सो घटनालाई सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्धको अत्यन्त अमानवीय, क्रुर र निर्मम घटनाको रुपमा व्याख्या गरेको छ ।
‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका आठ जना प्रहरी कर्मचारीलाई लाठी ढुंगा, बञ्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शंकारहित तवरले पुष्टि हुन आयो,’ पूर्ण पाठमा भनिएको छ ।
पूर्ण पाठले निर्दोष नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई दिएको माफी मिनाहालाई अदालतले गम्भीर प्रश्न उठाएको छ ।
कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेर जेल सजाय भोगिरहेका उक्त घटनाका मुख्य योजनाकार भनिएका चौधरी सर्वोच्चको फैसलालगतै गणतन्त्र दिवसको अवसरमा जेठ १५ जेठमा राष्ट्रपति पौडेलबाट आममाफी पाएर छुटेका थिए ।
विं.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुर घटनामा एक नाबालकसहित आठ जना प्रहरीको हत्या गएको थियो ।