
काठमाडौं— प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न ३ समितिका बैठकहरू बोलाइएको छ । संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसद् सचिवालय सिंहदबारमा बस्ने कृषि समितिको बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा कृषि तथा पशुपन्छी विकासमन्त्री तथा मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बैठक बिहान ११:३० बजेका लागि बोलाइएको छ । सार्वजनिक लेखा समितिको आठौं बैठक पनि संसद् सचिवालय सिंहदरबारमै बोलाइएको छ । बैठक १ बजेका लागि बोलाइएको छ ।
राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक ११ बजेका लागि बोलाइएको छ । १६औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यसहितका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।