
काठमाडौं— रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ ड्राइभर टोल बस्ने ३६ वर्षीया पुष्पा टण्डनको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
साउन २७ गते सालझण्डी नजिकै रुखमा झुण्डिएको अवस्थामा पुष्पाको शव फेला परेको थियो । घटनाको पाँचौं दिनमा प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो ।
मृतकका आफन्तले उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए । गुल्मीको दरबार गाउँपालिका घर भएकी पुष्पा छोराछोरीसँगै ड्राइभर टोलमा बस्दै आएकी थिइन् । पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए । तर उनको मृत्युपछि घर फर्किएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । आफन्तले पुष्पा आफैँ झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।