News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग, आधाभन्दा कम वितरण

काठमाडौं— वर्षाका कारण काठमाडौं उपत्यकामा मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ ।

सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए ।  उनले भने, ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।’ प्रवक्ता राईका अनुसार मेलम्चीको लाइनबाटै उक्त पानी वितरण भइरहेको छ ।

वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ । मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उनको भनाइ छ । बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उनले बताए । प्रवक्ता राईका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर  पूरा भइसकेको छैन । 

काठमाडौं उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो । तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो । ती संरचनाको पुननिर्माण अहिले पनि भइरहेको छ । २०७९ सालको हिउँदमा पानी ल्याइएको थियो । हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ । त्यो पानी र लिमिटेडको आफ्नो उत्पादनका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो । लिमिटेडले उपत्यकाका आसपास अरु स्रोतहरू पनि खोजी गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:४१
Weather Update