News Griha :: न्यूजगृह
विदेशमा नेपाली श्रम शक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना : मन्त्री भण्डारी

काठमाडौं— श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शरतसिंह भण्डारीले विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् । 

बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आकर्षणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताए ।

उनले भने, ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि केही आधारभूत मान्यताहरू छन् । खासगरी गरिबी निवारणमा टेवा र श्रम बजारमा श्रम शक्तिको आकर्षण गर्नु नै हो ।’ नेपाली श्रमिकले सामाजिक सुरक्षा अभाव र न्यून ज्यालाका कारण नेपाली श्रमिकको विश्व बजारमा आकर्षण बढेको र नेपाली बजारमा श्रमिकको अभाव हुन थालेको प्रति भण्डारीले चिन्ता व्यक्त गरे ।

‘नेपाली श्रम बजारमा सामाजिक सुरक्षाको अभावले अत्यन्त न्यून ज्यालामा काम गर्ने श्रम शक्ति विश्व बजारमा जान बाध्य भएका छन् र नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको छ । यी विषयहरूलाई समेत सम्बोधन गर्ने गरी सामाजिक सुरक्षाको योजनाहरूलाई परिमार्जित र विस्तार गर्दै लैजानुको विकल्प छैन,’ उनले भने ।

अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएपछि श्रमिकको श्रमलाई व्यवस्थित गर्नसमेत सहज हुने भण्डारीको भनाई छ । ‘अनौपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई कोषमा आवद्ध गराउने गरी मूलत श्रमिकको नियुक्ति पत्र व्यवसायको कर चुक्ता प्रमाण पत्र संस्था नवीकरण जस्ता विषयको काम गर्न सक्दा अनौपचारिक क्षेत्रलाई  अपौचारिक बनाउन सहज हुन्छ,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:३०
Weather Update