
काठमाडौं— अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारले हर तरहबाट युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् ।
बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले युवाहरूलाई देशमै रोक्नका लागि सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।
उनले भने, ‘सरकार हर किसिमबाट युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केही हुन थाल्यो भन्ने भएपछि विदेश गएका युवाहरू पनि देशमा अवसर देखेर आफै आउँछन् ।’ देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरूलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको महतको भनाइ छ ।
उनले भने, ‘सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौँ उद्यमशील गर्न चाहने युवाहरूलाई हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’
मन्त्री महतले उद्यमशीलताको नेतृत्व युवाहरूले गर्नुपर्छ भने ता पनि उद्यमशीलताप्रति उत्प्रेरणा गर्ने कुरा जटिल रहेको टिप्पणी गरे । उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सीप र क्षमता लिएर आउनेहरूको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताए ।