
काठमाडौं— नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको बुधबार पुनः शल्यक्रिया गरिने भएको छ ।
६ महिनाअघि आगलागीमा परी घाइते भएका सांसद भण्डारीको किर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको हो । शल्यक्रियाको भण्डारी अस्पतालमा भर्ना भइसकेका छन् । अस्पतालका प्रमुख प्रा.डा. शङ्कर राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गर्न लागिएको बताए ।
भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएका छन् । आफ्नो उपचारका लागि सरकारले दिएको रकम फिर्ता गर्ने घोषणा भण्डारीले गरिसकेको छन् । अस्पतालका अनुसार डा स्प्रौल आफ्नै खर्चमा भण्डारीको शल्यक्रिया गर्न आएका हुन् ।
डा भण्डारीको शल्यक्रिया स्प्रौलसँगै प्रा. डा. बीडी झा, शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. प्रविण गिरी, डा. निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ । गत फागुन ३ गते राति आगलागीमा परेका सांसद भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा गराइएको थियो ।
भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि फ्रन्ट लाइन अस्पतालमा उपचार भइरहेको थियो ।













