
काठमाडौं— पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ ।
‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो । महाधिवेशन दुई दिनसम्म चल्नेछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय संघ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासंघका राष्ट्रिय संयोजक बाबुराम थापाले जानकारी दिए ।
महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको संगठन महासंघमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन् ।
मुलुकभरि यसमा आबद्ध करिब छ लाख सदस्य छन् । वि.सं. २०७७ माघ २४ गते देशभरका एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो ।
महासंघको स्थापना २०५२ चैत्र ६ गते भएको थियो ।