
काठमाडौं— मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ ।
यसअघि हिजो ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने महाशाखा प्रमुख आचार्यले जानकारी दिए । त्यसका लागि केही दिन लाग्ने छ । त्यसपछि सुन कति छ र कुन गुणस्तरको हो ? भनेर पत्ता लाग्ने छ ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको थियो । उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।