
ढोरपाटन— आइतबार साँझपख । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए । कोही खाना खाँदै थिए ।
एक्कासी बजारमा बाढी आयो । बाढी आएसँगै हल्ला मच्चियो । एकैछिनमा सबै स्थानीय बजारभन्दा माथि गए ।
स्थानीय सुरक्षित ठाउँमा गएसँगै कागबेनी बजारमा बाढी पस्यो । हेर्दाहेर्दै बजार बगरमा परिणत भयो । स्थानीय आफ्नो सम्पत्ति आँखैअगाडि बगर हेर्न विवश भए । कसैले केही सामान निकाल्न भ्याए । धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।
बाढीले सबै बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घण्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङ सुनाउँछन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै मानवीय क्षति नभएको जानकारी दिए । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै भएको उनले सुनाए । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नपाएको भए सयौँ मानिसले बाढीसँगै ज्यान गुमाउन सक्ने उनको भनाइ थियो ।
‘दिनभर काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ,’ उनले भने, ‘हेर्दाहेर्दै बाढी कागबेनी बजारमा बस्यो, एकै छिनमा सबै घर बगरमा परिणत भए ।’
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढी पीडितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । १३ आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ थियो । सोमबार रातिसम्मको विवरणअनुसार चार पाङ्ग्रे दुई र मोटरसाइकल ३० वटा बगाएको छ ।
एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ । जनशान्ति माध्यमिक विद्यालयमा क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए ।
धर्मशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन् । उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पुरिएको आकलन गरिएको छ ।
कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङले बताए ।
बाढी पीडितलाई अहिले आफन्त कहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उनी बताउँछन् । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए ।
‘अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन,’ उनले भने, ‘भौतिक क्षति त धेरै भएको छ, अहिले मूल्यांकन गर्न सक्ने अवस्था छैन बाढी पीडितलाई अग्लो स्थानमा राखेका छौँ, खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।’
बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिए । खानेपानीको पाइपलाइन बगाएको छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘बाढीले बिजुलीका पोल र पाइप लाइन बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउन विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ ।’
वर्षा रोकिए पनि स्थानीय कागखोला हेर्दै झस्किने गरेका छन् । प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ ।