News Griha :: न्यूजगृह
बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम कार्य सुरु 

म्याग्दी— कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरोेको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।

सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ’, उनले भने,‘करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुंगा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।’

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:३५
Weather Update