भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी

काठमाडौं— नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीन वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जनाले जाहेरी दिएका थिए ।
कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा आफूहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाका १८ जना पीडितले जाहेरी दिएको बताए ।
उनीहरूले दिएको सक्कल जाहेरी दरखास्तलगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोमबार नै जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १९:३९