
काठमाडौं— नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ । सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछ ।’
डा. यादव सक्कली चिकित्सक भएको पुष्टिपछि रिहा भइसकेका छन् ।
सङ्घका आजीवन सदस्य डा यादवलाई सीआईबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’मा गत साउन २५ गते पक्राउ गरेको थियो । सीआईबीले एसएलसी र प्लस टूको मार्कसिटमा कीर्ते गरेर नम्बर थपघट गरेर एमबीबीएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो ।
‘कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।














