
काठमाडौं— नेपालमा मनसुनी वर्षा अझै केही दिन जारी रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा दिन जारी रहने भएको हो ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार र मंगलबार बदलीका साथै वर्षा हुने जानकारी दिए । ‘आज र भोलि बदली र वर्षा हुनेछ, तर पनि गत शनिबार र आइतबारको तुलनामा भने कम वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने, ‘आगामी बुधबार वर्षा बढी हुनेछ ।’
अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिमको पहाडी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावले बदली र वर्षा गराएको हो ।