News Griha :: न्यूजगृह
असई चौधरी पक्राउ, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
फाइल तस्बिर

सङ्खुवासभा— जिल्लाको कारागारभित्र दुई कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेकी छन् । उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरी अनुसन्धान सुरू भएको हो । 

पीडितले दिएको किटानी जाहेरीका आधारमा चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो । 

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार मृत्यु भएको थियो । 

शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र असई चौधरीविरूद्ध जाहेरी परेको थियो ।  जाहेरी परेपछि उनीहरूविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ । 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि मृतकका आफन्तले सोमबार शव बुझेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:३४
Weather Update