
म्याग्दी— मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनवीर किसान आइतबार राति खाना खाने तयारी गर्दै थिए ।
कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीय बाढी आएको सूचनापछि भागदौड गर्दै थिए ।
‘खाना खाने तयारी गर्दै थियौँ, बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ,’ उनले भने, ‘यहाँका बूढापाका अहिलेसम्मकै ठूलो बर्सात भएको सुनाउँछन् ।’
कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ ।
कागबेनीकी कल्पना मगरले बाढीमा ज्यान बचाउन सफल भए पनि घरबासविहीन हुनु परेकोमा दुःखी भएकी छन् ।
‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छ,’ उनले भनिन्, ‘ज्यान त बच्यो तर हाम्रो घरबास केही रहेन ।’
गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउमा रहेको २० भन्दा बढी घर÷होटल भत्काएको बताए ।
‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ, क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘रातभर विस्थापितको व्यवस्थानमा लाग्यौँ, बिहानदेखि क्षतिको विवरण संकलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’
कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् ।
बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ ।
पुलको स्ल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।
लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो ।
विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ ।
कागबेनीमा हिन्दुले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ ।
नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउँछन् ।
बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको जानकारी दिए ।
क्षतिको विवरण संकलन, थप क्षति हुन नदिन गर्नु पर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उनले बताए ।
दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन् ।
बर्सातले मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमान स्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिमि पुगेको जनाएको छ ।
कालीगण्डकी पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिने नदी हो । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
‘तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘म्याग्दीमा क्षति गरिसकेको छैन, जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’
हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन बताउँछन् । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र संघीय सरकारसँग ध्यानाकर्षण गराएको उनले बताए ।