गोरखा— केही दिनदेखि लगातार परेको वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । ठूला–ठूला ढुंगासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए । पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारीसाधान आउजाउ ठप्प भएका छन् ।
सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौं ओहोर–दोहोर गर्ने सवारीसाधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारीसाधन पनि पूर्णरुपमा रोकिएको उनले बताए । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
‘ठूला-ठूला ढुंगा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ’,उनले भने,‘लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।’
उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौं चितवनलगायतका शहरमा छुट्ने सवारीसाधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।