News Griha :: न्यूजगृह
बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती असुल्ने सात जना पक्राउ

काठमाडौं— बंगलादेशी नागरिकहरूलाई नेपालबाट वैदेशिक रोजगारका पठाइदिने आश्वासन देखाएर काठमाडौंमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् ।

बंगलादेशी नागरिकलाई बन्धक बनाएर उनीहरूको परिवारसँग फिरौती माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

कार्यालयले आरोपितलाई पक्राउ गरेसँगै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकको उद्धार गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट ल्याएर बन्धक बनाएर परिवारसँग पैसा माग्ने गरेको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिकहरू ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम, २१ वर्षीय तहमिना बेगम रेहका छन् । यस्तै सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् । 

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।

पीडितहरूमध्ये एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:०५
Weather Update