
काठमाडौं— धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ । उजुरीपछि आइतबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
यादवले विभिन्न तालिम, भत्ता र भौतिक संरचना निर्माण र विद्यालयमा पोशाक वितरण गर्ने नाममा रकम हिनामिना गरी अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा निवेदन परेको हो ।
उनीविरुद्ध स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले भ्रष्टाचार गरेको किटानीसहित शनिबार निवेदन दिए हुन् । उजुरीका आधारमा आइतबार दिउँसो अख्तियारको टोलीले धनुषाको मिथिला बिहारी नगरपालिका कार्यालयमा छापा मारेको छ ।
वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको चार लाखको बजेटमा कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठ नागरिकहरूले बताएको प्रमाणसहित उजुरी हालिएको उल्लेख गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाका लागि सीपमूलक तालिमका लागि चार लाखको बजेटमा तीन लाख ९८ हजार ३२५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रीट लाइट जडानका लागि आठ लाखमा सात लाख ९२ हजार ९२१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको विल भरपाई पेश गरी एक लाख ७८ हजार भुक्तानी लिएको भन्दै उनीविरुद्ध स्थानीयले दिएको निवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिङ सेट निर्माणमा लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, वडा नं. ९ अन्तर्गत खानेपानीका लागि हाते पाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाखमा ९ लाख ६६ हजार ७५१ रुपैयाँ भुक्तानी लिएको भन्दै यादवद्वयले छानविन गरी आवश्यक कारबाही गर्न अख्तियारमा निवेदन दिएका हुन् । उजुरीका आधारमा करिब ४५ लाख रपैयाँ भ्रष्टाचार गरेको देखिएको छ ।