News Griha :: न्यूजगृह
वर्षाले हवाई उडान प्रभावित, यी रुटमा उडानहरू रद्ध

काठमाडौं— अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् । केही उडान रद्द भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिएका हुन् ।

उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एअर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । 

साथै, अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले बताए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् ।

काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एअरका काठमाडौं–पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:०७
Weather Update