
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्ण रुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताएका हुन् ।
उनले सेवामा सुधार गर्ने संकल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।
संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको उनको भनाइ थियो ।
'संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ, जनताको सरदर आयु बढ्दै गएको छ, संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ, यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ,' प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए । उनले संघीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने संकल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे ।