
काठमाडौं— सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले गौर काण्ड उचालेर जसपालाई फसाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपा प्रवक्ता सुमनले १६ वर्षअघि भएको घटनामा सरकार अहिलेसम्म किन चुप बसेको भन्दै शंका व्यक्त गरे । उनले मुद्दाको उठान जसरी गर्न खोजिएको छ त्यसले शंका गर्ने अवस्थालाई थप बल मिलेको बताए ।
‘राजनीतिक व्यक्ति यस्ता झुटा मुद्दाबाट कहिले डराउदैन्, जनता समाजवादी पार्टी डराएको छैन, तर यो मद्दाको उठान जसरी गरिएको छ, त्यो प्रति आपत्ति छ, अचानक सम्झौता गरेर हामीलाई फसाउने काम हुँदैछ,’ उनले भने, ‘जनता समाजवादी पार्टीलाई मात्र नभई त्यहाँ १३० जनाको भन्दा बढीको संख्या छ, त्यसलाई फसाउने दुष्प्रयास गरिदै छ, त्यो प्रति हामीले खेद प्रकट गरेका छौँ ।
उनले आफूहरू राज्य र सरकार नभएको बताउँदै १६ वर्षसम्म सरकार किन चुप बसेको भन्दै प्रश्न गरे । गौर हत्या काण्डप्रति आफूहरू पनि दुखित रहेको भन्दै गौर घटना भवितव्यको घटना भएको र त्यसको सत्य तथ्य छानविन हुनु पर्ने उनको माग थियो ।
यो पनि पढ्नुहोस
जसपाले गृह मन्त्रालय र गौर हत्या काण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको पाँच बुँदे सहमतिप्रति असन्तुष्टि जाहेर गर्दै शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ प्रष्ट पारेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सहमतिप्रति असन्तुष्टि जनाएको जसपाले यो विषयमा गम्भीर असहमति प्रकट गरेको छ ।
पत्रकार सम्मेलनमा जसपा नेता राजकिशोर यादवले विगतमा गठन भएको आयोगले छानविन गरेर तयार गरेको प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरे ।
१७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा (तत्कालीन मधेशी जनअधिकार फोरम)का अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ ।
त्यही घटनाको अनुसन्धान अघि बढाउनेसहितका विषयमा गृह मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको छ ।














