
काठमाडौं— मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ ।
आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार ६३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । साेही अवधिमा ६२ हजार ९२६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए।
आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार ४५४ जनाले ओपिडी सेवा र ५२ हजार ३५७ जनाले इमर्जेन्सी सेवा लिएका थिए । यो हिसाबमा आव २०७८/७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ ।
अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार ८०७ छ भने अस्पतालमा ठूलो अपरेसन एक हजार ८६८ र सामान्य अपरेसन ८५९ भएको झाले बताए ।
अस्पतालमा दश हजार १८३ बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको उनको भनाइ थियो ।
अस्पतालबाट गत वर्ष पाँच हजार ६६४ दाँतका बिरामीको उपचार भएको र आठ हजार ३४२ छाला रोगका बिरामीले सेवा लिएका छन् ।
यस्तै नौ हजार ८०१ जना नाक, कान, घाँटीसम्बन्धी बिरामीले सेवा लिएको झाले बताए । अस्पतालमा १८ हजार ७०१ जनाले स्त्री रोगसम्बन्धी सेवा लिएका छन् । ३९८ मानसिक रोगीले सेवा लिएका छन् ।
अस्पतालबाट २१ हजार ९३३ हाडजोर्नीका बिरामीले सेवा लिएका छन् भने १६ हजार १११ बालरोगको सेवा लिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक दुई हजार विभिन्न ल्याब परीक्षण हुने गरेको छ भने मिर्गौलासम्बन्धी दुई हजार १७८ जनाले सेवा लिन सफल भएका छन् ।
पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौँडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले बताए ।
हेटौँडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागू गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उनको भनाइ छ ।
१२५ श्यैयाको हेटौँडा अस्पतालमा अहिले महिला तथा प्रसूति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन् ।
प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुरका मात्रै नभई मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी पनि उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् ।