News Griha :: न्यूजगृह
शर्माको सचिवालयले भन्यो— गृहमन्त्री र अर्थ मन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साध्न सुनिल शर्मालाई पक्राउ गरियो

काठमाडौं— शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माको सचिवालयले प्रतिशोध साध्न पक्राउ गरिएको बताएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सो अभियोगमा बिहीबार शर्मालाई उनको निवासबाटै पक्राउ गरेको थियो ।

शर्मा पक्राउ परेपछि उनको सचिवालयले साँझ विज्ञप्ति जारी गर्दै सय किलो सुन तस्करीको विषयलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा मागेकै कारण प्रतिशोध साध्न पक्राउ गरिएको दाबी गरेको छ ।

शर्माका स्वकीय सचिव विवेक लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘माननीय सुनिल कुमार शर्माज्यूलाई प्रतिशोध साध्ने हेतुले संघीय संसदमा सुन तस्करीको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण निज निवास गोल्फुटारबाट संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायलाई जानकारी गराउँदछौं ।’

जनताको पक्षमा आवाज उठाउँदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसीबी साध्ने मनसायले वाक् स्वतन्त्रताको खिल्ली उडाउँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरेर शर्मालाई पक्राउ गरिएको सचिवालयले विज्ञप्तिमा भनेको छ । शर्मामाथि लागेको अभियोगको छानबिनमा सहयोग गर्ने पनि सचिवालयले उल्लेख गरेको छ ।


 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:१५
Weather Update