भरतपुरमा डेङ्गु परीक्षणको शुल्क मनपरी लिन नपाउने

चितवन— जिल्लाको भरतपुर महानगरभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि शुल्क तोकेको छ ।
महानगरले डेङ्गु परीक्षणका लागि आधिकतम छ सय रुपैयाँ मात्र लिन पाउने गरी शुल्क तोकेको हो ।
महानगर प्रमुख रेनु दाहालले शुल्कमा एक रूपता गराउन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको जानकारी दिइन् ।
उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिनसमेत अनुरोध गरेकी छन् । जिल्लाका प्रदेश स्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ ।
भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँ मात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त संक्रमण पुष्टि भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १६:४९