काठमाडौं— नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष ०७९–८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको उनको भनाइ थियो ।
यस्तै, प्राधिकरणले विद्युतीय सामाग्री बिक्री गरेर करिब एक खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको घिसिङले बताए । दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर झण्डै एक खर्ब पुगेको हो ।
उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।