News Griha :: न्यूजगृह
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर [पूर्णपाठ]

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीसँग संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्य सूचिसहित सम्झौता पत्र तयार पारी हस्ताक्षर गरिएको हो ।

कार्य सम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग अलग कार्य सूची तयार पारिएको छ । सम्झौता पत्रमा हासिल गर्नु पर्ने नतिजा सूचक राखिएको छ । जसमा नतिजा सूचक, भार, इकाई, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।

मन्त्रालयहरूले गर्नु पर्ने प्रमुख कार्यहरूमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट, प्रधानमन्त्रीले विभिन्न समयमा प्रतिनिधिसभा र नेपाल सरकारका सचिवहरूलाई गरेको सम्बोधन, नेपाल सरकारको एकीकृत कार्य योजना आदि सूचकलाई आधार बनाइएको छ ।

सम्झौतामा कार्य सम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनु पर्ने र त्यसलाई मासिक तथा वार्षीक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ ।

कार्य सम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै 'यस सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नु पर्ने' व्यवस्था सम्झौता पत्रमा गरीएको छ ।

कार्य सम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्रीले तोकिएको कार्यादेश र कार्य विवरणअनुसार प्रभावकारी काम गर्न संघीय सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:०२
Weather Update