News Griha :: न्यूजगृह
सेनाको सैनिक कल्याणकारी कोषको नाममा ७१ अर्ब बैंकमा, साढे ६ अर्ब लगानी

काठमाडौं— सैनिक कल्याणकारी कोषको कूल सम्पति ७७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । 

उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइएको छ ।

बाँकी छ अर्ब ५५ करोड ४० लाख भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण प्रस्तुत गरिको छ ।

सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दस लाखको संख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आइएको छ । 

कोषमार्फत सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तार तथा स्तरोन्नतिका कार्य भइरहेको जनाएको छ ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजारबाट विं.सं. २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो । 

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाल, अवकास प्राप्त सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत, बीमालगायत सीप तथा स्वरोगारजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाइएको छ ।

राष्ट्रसंघको आह्वानमा विश्व शान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेना व्यावसायिक, अनुशासित र सहासिक भएका कारण द्वन्द्वग्रस्त मुलुकका नागरिकबीचमा लोकप्रिय छ । 

शान्ति सेनामा धेरै संख्यामा महिला सैनिक पठाउने सूचीमा नेपाल पहिलो नम्बरमै छ । हाल विश्वका १३ वटा शान्ति मिसनमा पाँच सय ६५ महिलासहित छ हजार ७३ जना नेपाली शान्ति सैनिक खटिएका छन् । 

हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४५ हजार ८१३ नेपाली शान्ति सैनिकले योगदान पुर्‍याइसकेका छन् । सोही क्रममा ७३ जना नेपाली शान्ति सैनिकले मृत्यु हुनुका साथै ६६ जना घाइते भएका थिए ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०५
Weather Update