
काठमाडौं— डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ । इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्यांकमा दश हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ ।
संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको बताए ।
उनले यसैगरी डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
डेंगु संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ । यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ ।
कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना,मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ ।
नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् । सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौं एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।