News Griha :: न्यूजगृह
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन, घरमै गर्न सकिन्छ उपचार
भारल इन्फेक्सन भएका बालकको आँखा परीक्षण गर्दै नेत्ररोग विशेषज्ञ । आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै अस्पतालले बालबालिकाको आँखा परीक्षणका लागि छुट्टै व्यवस्था गर्दैआएको छ ।  

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस)लागे आत्तिनु नपर्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

‘यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ,’ डा अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ  र सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

डा. अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा साबुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ ।

लक्षणहरू 
आँखा पाक्ने रोगका प्रमुख लक्षणहरूमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायत हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:१५
Weather Update