News Griha :: न्यूजगृह
बाबुराम भन्छन्— गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड रहेको टिप्पणी गरेका छन् ।

हत्याकाण्डका पीडितहरूले न्याय खोज्दै आन्दोलन गरिरहेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष डा.भट्टराईले पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने बताए ।

डा.भट्टाराईले ट्विटरमा लेखेका छन्,‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलिकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । स्मरणरहोस्, यो विभत्स हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा घटेको र शान्ति प्रक्रियासँग जोडिएको घटना होइन । यो त मधेसका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो । तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ ।’

वर्तमान सरकारले पीडितलाई न्याय दिनेप्रति पनि उनले शंका गरेका छन् । उनले थप लेखेका छन्,‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं । सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जीत एक दिन अवश्य हुनेछ ।’

 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:२७
Weather Update