News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, हेर्नुहोस् कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०६:२९
Weather Update