
काठमाडौं— संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज बिहान बालुवाटारमा बस्ने भएको छ ।
सभामुख घिमिरेसहित हिजो सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो ।
सभामुख घिमिरेसहित प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच सोमबार दुईपटक छलफल भएको थियो ।
पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो । सरकार र एमालेबीच सहमति नहुँदा संसद् बैठक सोमबार पनि बस्न सकेन ।
एमालेले सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
एमालेको मागमा सरकार सहमत भएको छैन । सरकारले उच्चस्तरीय छानबिन समिति अनावश्यक भएको बताएको छ ।













