
धनकुटा— लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेंगुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुंगा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ ।
जनस्वास्थ्य अधिकृत विवेचना गौतमका अनुसार सबै मृतक सुनसरी जिल्लाका रहेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेंगु लागेको छ ।
सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेंगु संक्रमण भएका छन् ।
त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना संक्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमको भनाइ छ ।
दुई जिल्लापछि झापामा पाँच सय २८ जना संक्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् ।
उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेंगु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेंगु संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।