
सिरहा— सिरहाको लहान नगरपालिकाले गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवती महिलालाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।
नगरप्रमुख महेशप्रसाद चौधरीले आफू निर्वाचित भएदेखि हरेक महिनाको २२ गते गर्भवती महिलालाई खाद्यान्न वितरण कार्यक्रमको निरन्तरता दिँदै आएका छन् ।
जन्मिने बच्चा स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
‘गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोसिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ’,उनले भने,‘पोसिलो खाना र सरसफाइमा गर्भवती तथा घर परिवारका महिलाको ध्यान पुगोस् भनेर पोसिलो खाद्यान्न वितरण गरिएको हो ।’
सहज रुपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेको चौधरीले बताए । सधैं आश्वासन मात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोसिलो खानेकुरा लिएर आएकोमा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका छन् ।