News Griha :: न्यूजगृह
नागढुंगा—सिस्नेखोला सुरुङ 'ब्रेक थ्रू' 

काठमाडौं—  नागढुंगा—सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ ।

निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक  थ्रू’ गरिएको हो । नागढुंगा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।

नागढुंगा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्रै सहभागी थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौं वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको सुरुङमा सात वटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सात वटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ । सोमबारसम्म दुई हजार एक सय ८६ मिटर खन्ने काम सकिएको छ ।

मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर बाँकी छ । आगामी मंसिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको कन्सल्टेन्सी इन्जिनियर कोइरालाले जानकारी दिए ।

सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:२४
Weather Update