काठमाडौं— यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर एक लाख एक हजार २३६ पटक खरिद बिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अंकले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अंकले बढेको छ ।
विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अंकले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अंकले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ बराबरको सात लाख एक हजार ८०३ कित्ता शेयर किनबेच भएको छ ।