News Griha :: न्यूजगृह
तनहुँमा आँखा पाक्ने रोग बढ्यो, दुई विद्यालय बन्द
फाइल तस्बिर

तनहुँ— जिल्लाको दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । 

गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट संक्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिइन् । 

यसअघि दिनमा तीन–चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि संख्या बढेको उनले बताइन् । आँखा उपचारमा आउने बिरामीमध्ये झण्डै ५० प्रतिशत आँखा पाक्ने रोगका संक्रमित हुने गरेको उनले जानकारी दिइन् ।

मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ । उनले भनिन्, ‘कतिपय ब्याक्टेरिया र धुलो धुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ ।’

एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ । उनले भपिन्, ‘महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ ।’

दुई विद्यालय बन्द  

आँखा पाक्ने रोगको संक्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्ला गण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो । 

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षे बिदाबाट कट्टा गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संक्रमण नरोकिए पुनः सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:२५
Weather Update