News Griha :: न्यूजगृह
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधी आपूर्तिमा कठिनाइ

चितवन— आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवम् आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ ।

बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधीको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए ।

अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।

अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६, कावासोतीमा एक सय ९३ र सिम्रनगढमा एक सय दुई जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरंग सेवा भरतपुर उकालोमा दुई सय ३८, पर्सामा एक सय ६३, रत्ननगरमा एक सय २८, माडीमा ९६, चनौलीमा ६५, राप्तीमा ६१  र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

यसैगरी धादिङको बेनिघाटमा १६, सल्यानटारमा १३, नवलपरासीको मध्यविन्दुमा ४४, हुप्सेकोटमाम ४०, सिन्धुलीको दुधौलीमा १७, तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए ।

बिरामी बढेसँगै औषधीसमेत अभाव हुन थालेको छ । उनले औषधी खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधी आपूर्ति हुन नसकेको बताए ।

अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उनले जानकारी दिए । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:५७
Weather Update