News Griha :: न्यूजगृह
ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको हो । 

ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको निवेदनका आधारमा अदालतले तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टक्ला र भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी भएपनि सार्वजनिक जीवनमा रहेका गच्छदार, जोशी र श्रेष्ठलाई आफै ब्युरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गरिने सीआईबी स्रोतले बतायो । अर्का आरोपित साह भने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा छन् ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्युरोले २० आरोपितलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्च अदालतले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलाएपछि सुरुवातमा यी चार विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदार विरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । २०७६ सालमा अख्तियारले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:३६
Weather Update