
बाग्लुङ— बाग्लुङको ताराखोला गाउँपालिका–२ अर्गलमा वि.सं.२०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।
सुरुमा अलैँचीका बिरुवा हुर्किंदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् ।
असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् ।
अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिए । आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताए । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनको भनाइ छ ।
ताराखोला–२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले बताए ।
गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको उनी बताउँछन् ।
अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्तीमगरले बताए ।