News Griha :: न्यूजगृह
पोखरामा आँखा पाक्ने विरामी बढेपछि परीक्षण गराउने बढे
फाइल तस्बिर

कास्की— गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको संक्रमणका कारण परीक्षण गराउनेको संख्या बढेको छ ।

विगतको तुलनामा यस वर्ष आँखा पाक्ने समस्या बढी देखिएको हिमालय आँखा अस्पतालका स्वास्थ्य निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् । ‘अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ,’ उनले भनिन्, ‘दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।’

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्न डा. श्रेष्ठले सुझाव दिइन् ।

‘रोगको संक्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन,’ उनले भनिन् । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने उनले बताइन् । 

संक्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग फैलिने उनको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिइन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:१५
Weather Update