News Griha :: न्यूजगृह
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

काठमाडौं— कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामी बच्चाहरू मर्कामा परेका छन् । बालबालिकाको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । 

यस्तै, बालबालिकाहरूको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपीडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरूको चाप छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको बताए ।

उनका अनुसरा एउटा बेडमा दुईदेखि तीन जना बालबालिकालाई राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको छ । अस्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा समस्या भोग्नु पर्ने स्थिति रहेको छ । उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए ।

डा. बसौलाले गत आर्थिक वर्ष दुई लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झण्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।

‘बिरामी संख्या हेर्दा अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ, अत्यधिक चाप चाहिँ साउन भदौ महिनामा देखिन्छ, दैनिक नौ सयसम्म हाराहारीमा ओपीडीमा आउनेको संख्या छ, इमरजेन्सीमा दुई सयसम्म बिरामी आउने गर्छन्,’ उनले भने, ‘अहिले ३३० बेडले पनि धान्न सकेको छैन, एउटा बेडमा तीन जना बसेको देख्न सक्नुहुन्छ ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको उनको भनाइ थियो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ ।

एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरी डीपीआर पूरा भएको जानकारी दिँदै डा. बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भवन बनाउने योजना रहेको बताए । उनले इमरजेन्सीबाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नु पर्ने बाध्यता रहेको जानकारी दिए । 


 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:३९
Weather Update