News Griha :: न्यूजगृह
गत आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालय मातहतबाट १८ करोडको भन्सारजन्य सामग्री बरामद

मकवानपुर— बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १८ करोड रुपैयाँभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी १८ करोड १० लाख १५ हजार सात सय ३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दीपक रेग्मीले बताए ।

बागमती प्रदेशभरिमा सबैभन्दा बढी चितवनबाट ५ करोड ४४ लाख २२ हजार रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको र १९ जना पक्राउ भएको रेग्मीले बताए ।यस्तै मकवानपुरबाट ५ करोड ३८ लाख १५ हजार दुई सय रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसँगै दश जनालाई पक्राउ परेका हुन् । 

यस्तै सिन्धुलीबाट एक करोड ५७ हजार रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसहित छ जना पक्राउ परेका छन् । काभ्रेबाट ९४ लाख ५१ हजार रुपैयाँको भन्सारजन्य सामग्रीसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै सिन्धुपाल्चोकबाट दुई लाख ७९ हजार दुई सय ७५ बराबरको भन्सारजन्य सामग्री बरामदसहित १३ जना पक्राउ परेका छन् भने नुवाकोटबाट चार लाख ६२ हजार ५० बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ ।

यस्तै धादिङबाट दुई करोड २५ लाख पाँच हजार आठ सय ५८ बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ । रसुवाबाट एक करोड ५५ लाख ६० हजार एक सय ३२ बराबरको सामग्री बरामदसहित छ जनालाई पक्राउ गरिएको रेग्मीले बताए ।

गत आवमा रामेछाप र दोलखामा भन्सार छलीका सामानहरू बरामद भएनन् । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २१:०५
Weather Update