
म्याग्दी— म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा ६ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको जानकारी दिए ।
‘अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको थियो’, उनले भने,‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।’
स्थानीय तहहरुले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् ।
कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो । खेती गर्ने र भित्र्याउने समयमा अनुकूल मौसम र रोग किराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर पुर्जाले बताए ।
‘अघिल्लो वर्ष ऐजुरु रोगले आलुको बोट र दानामा असर गरेकाले उत्पादन आधाले घटेको थियो’, उनले भने,‘नयाँ बीउ लगाइएको हुँदा यसपालि आलु राम्रो फलेको छ ।’ उनले एउटै दाना एक किलो बराबर तौल भएको आलु उत्पादन भएको जानकारी दिए ।