
काठमाडौं— नेपाली कांग्रेसले डेंगु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
डेंगु रोगको महामारीले मुलुकको पूर्वी भू-भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म केही व्यक्तिको ज्यान गइसकेको बताउँदै कांग्रेसले उक्त रोगको संक्रमणका कारण सयौँको सङ्ख्यामा नागरिक सिकिस्त बिरामी परेको जनाएको छ ।
कांग्रेसले विज्ञप्तिमार्फत बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसम्बद्ध संघसंस्था एवम् प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल गर्दै कांग्रेसले रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न स्थानीय नेता एवम् पार्टी सदस्यहरूलाई आह्वान गरेको छ ।